काठमाडौँ : सरकार र मिटरब्याज पीडित पक्षबीच भएको लेनदेनसम्बन्धी ९ बुँदे सहमति तथा मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु-महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफ्ना हितविपरीत गरिएका निर्णयहरू तत्काल खारेज गर्न माग गरेका हुन्।
उनीहरूले सरकारले एकतर्फी रूपमा गरेको सहमति र मन्त्रिपरिषद्को निर्णय फिर्ता लिनुपर्ने अडान अघि सारेका छन्।
मधेस प्रदेशका आठै जिल्लाबाट आएका साहु-महाजनहरूले जनकपुरधाम नगरको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि पुगेर प्रदर्शन गरेका थिए।
पीडित लेनदेन संघर्ष समिति, मधेशका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।
उनका अनुसार माग पूरा नभए आगामी भदौ १ गतेदेखि काठमाडौँ पुगेर सिंहदरबार घेराउ गर्ने र माईतीघरमा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘कानुनी राज्य बहाल गर’ भन्दै नाराबाजी गरेका थिए।
उनीहरूले लेनदेनसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित सबै पक्षलाई समेटेर त्रिपक्षीय वार्ता आह्वान गर्नुपर्ने माग समेत गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij