काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ‘सरकारमा कोही एक्लो नभएको’ भन्दै जवाफ दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाकै सांसदहरूले सरकारको कामकारबाहीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको संकेत गर्दै स्टाटस लेखेका थिए।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको जवाफ दिँदै झाले फेसबुकमा लेखेका छन्- 'परिवर्तनका लागि महान् जनादेश पाएको यो सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।' झाले संसदमा आफूहरूले प्रधानमन्त्रीको नियत र आशयमाथि शंका नगरेको स्पष्ट पार्दै सुधार गर्नुपर्ने विषयमा भने निरन्तर सचेत गराउने बताएका छन्।
उनले ऐतिहासिक अवसर खेर जान नदिन संसदबाट सरकारलाई खबरदारी गर्ने काम जारी रहने उल्लेख गरेका छन्।
‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ झाले थप भनेका छन्। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने बताउँदै झाले आफू सरकारको साथमा रहेको पनि स्पष्ट पारेका छन्।
शुक्रबार सदनमा बोल्दै सासंद झाले सरकारमाथि कुनै शङ्का नभएपनि सञ्चालनमा ढङ्ग नपुगेको टिप्पणी गरेका थिए। 'सरकारमाथि कुनै कुनै पनि शङ्का छैन। कुनै प्रश्न छैन। तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ। त्यो स्वीकार्नु पर्छ। आफूलाई के थाहा छैन भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ। त्यसैले राज्य सञ्चालनको कुराहरूमा ढङ्ग सुधार्नुपर्छ।' उनले भनेका थिए ।
साथै उनले निर्वाचित प्रतिनिधि जनतासँग जोडिनुपर्ने भन्दै कालो चस्मा पनि हटाउनुपर्ने टिप्पणी गरेका थिए। त्यसपछि शुक्रबार मध्यराति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘सही समय आउनलाई केही समय लाग्छ’ भन्दै ढिला भए पनि गलत नहुने बताएका थिए। उनले आफूलाई नआत्तिन आग्रह गर्दै ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन’ समेत लेखेका थिए।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि सत्तारूढ पक्षकै नेताहरूबीचको सम्बन्ध, सरकारको कार्यशैली र संसदमा उठेका प्रश्नलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। यसैविषयमा यसअघि नेकपा एमालेका नेता महेश बस्नेतले पनि बालेनमाथि सत्ता त्यागका लागि दबाब बढ्दै गएको संकेत स्ट्याटसले स्पष्ट पारेको भन्दै टिप्पणी गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij