Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम : सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा आज धनगढीमा गरिएको बजार अनुगमनका क्रममा ग्यास थोकविक्रेतामा नियमित आपूर्ति भइरहे पनि माग अत्यधिक बढिरहेको पाइएपछि अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले नेपाल आयल निगम, ग्यास डिलरलगायतले मागभन्दा बढी आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास अभावको हल्लाका कारण अतिरिक्त भण्डारण गर्दा केही समस्या देखिएको बताए।

“अनुगमनका क्रममा जिल्लाका केही डिलरमा ग्याँसको माग अत्यधिक देखियो। केही डिलरमा भने पर्याप्त मौज्दात रहेको पाइयो। विगतको तुलनामा ग्यासको आपूर्ति बढेको भए पनि बजारमा अभाव देखिनुले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको हुनसक्ने हाम्रो बुझाई हो”, उनले भने,“हल्लाको पछाडि लागेर अतिरिक्त सिलिण्डर थुपार्न आवश्यक छैन। बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ।”

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मनोहर डिसीले  विगतको तुलनामा यस वर्ष मागभन्दा बढी नै ग्यास आपूर्ति भएको बताए।

सुदूरपश्चिममा मासिक करिब एक लाख सिलिण्डर ग्याँस बिक्री हुने गरेकामा यस वर्ष साउनको हालसम्म एक लाख २० हजार सिलिण्डर बिक्री भइसकेको र थप ५० हजार सिलिण्डर ग्यास आउने क्रममा रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट