Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भरतपुर खानेपानी बोर्डले उठायो १ करोड ५५ लाख बक्यौता

भरतपुर खानेपानी बोर्डले उठायो १ करोड ५५ लाख बक्यौता

चितवन   : भरतपुर खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि खानेपानीको महसुल नतिर्ने ग्राहकबाट १ करोड ५५ लाख रुपैयाँभन्दा बढी बक्यौता असुल गरेको छ। बोर्डका अनुसार ५ हजार रुपैयाँभन्दा बढी बक्यौता रहेका तथा ६ महिनाभन्दा बढी समयदेखि पानीको महसुल नबुझाएका १ हजार ५ सय ३ जना ग्राहकबाट कुल १ करोड ५५ लाख ३ हजार ६ सय ८५ रुपैयाँ असुल गरिएको हो।

बोर्डले गत फागुनदेखि बक्यौता असुली अभियान सञ्चालन गरेको थियो। फागुनदेखि असार मसान्तसम्मको अवधिमा उक्त रकम असुल भएको हो। अझै करिब ५ सय ग्राहकबाट २० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको बोर्डले जनाएको छ।

बक्यौता असुलीका लागि बोर्डले ग्राहकलाई पत्राचार गर्ने, घरदैलोमा पुगेर ताकेता गर्ने, एसएमएस पठाउने तथा पानीको लाइन काट्नेलगायतका काम गर्दै आएको छ। यसका लागि छुट्टै टोली गठन गरी अभियान सञ्चालन गरिएको बोर्डले जनाएको छ।

गत वर्ष बोर्डले १६ करोड ५९ लाख ४२ हजार १ सय रुपैयाँ बराबरको खानेपानी महसुल बिलिङ गरेको थियो। सो अवधिमा १६ करोड ९९ लाख ७२ हजार ४ सय ४० रुपैयाँ महसुल संकलन भएको थियो। यो बिलिङ रकमको लक्ष्यभन्दा २ दशमलव ५७ प्रतिशत बढी संकलन हो।

यसैबीच, भरतपुर महानगरपालिकाले उपभोक्तालाई उपलब्ध गराउँदै आएको ७ युनिटसम्मको खानेपानीमा दिने अनुदान रकमसमेत बोर्डले प्राप्त गर्न सकेको छैन। बोर्डका अनुसार गत मंसिरदेखि अनुदानबापतको रकम भुक्तानी भएको छैन।

महानगरपालिकाबाट ८ महिनाको अनुदानबापतको बक्यौता रकम १ करोड रुपैयाँभन्दा बढी पुगेको बोर्डले जनाएको छ। बोर्ड तथा विभिन्न उपभोक्ता समितिमार्फत सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनाको सञ्चालनमा समस्या देखिन थालेको बोर्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट