काठमाडौँ : ६ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ । कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका हुन्।
जेनजी प्रदर्शनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिंगापुर गएका थिए । त्यसपछि देउवा बिहीबार थाई एयरवेजको उडानमार्फत मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
कांग्रेसमा अहिले आधिकारिकताको विवाद फेरि सर्वोच्च अदालतमा पुगेका बेला देउवाको आगमन हुन लागेको हो । देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुग्ने नेता विश्वकर्माले जानकारी दिए । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू देउवाको स्वागतका लागि जानेछन् ।
देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेता–कार्यकर्ताले सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर लैजाने तयारी छ । त्यसका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित उपस्थित हुन निर्देशन दिइएको नेताहरूले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij