काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा नेतृत्वको समितिलाई मान्यता दिन अस्वीकार गरेका छन्। शुक्रबारदेखि काठमाडौँमा सुरु भएको देउवा–शेखर पक्षधरको ‘राष्ट्रिय भेला’ मा विशेष महाधिवेशनबाट आएको समितिलाई पूर्णतः उपेक्षा गर्दै कार्यक्रमको सुरुवात, सम्बोधन र शपथ ग्रहणका क्रममा पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको नभई १४ औँ महाधिवेशनबाट निर्वाचित पद र हैसियतअनुसार नै सम्बोधन गरिएको छ।
प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले सञ्चालन गरिरहेको भेलाको उद्घाटन कार्यक्रममा सहभागी नेताहरूलाई सम्बोधन गर्दा विशेष महाधिवेशनले दिएको नयाँ जिम्मेवारीलाई कतै पनि उल्लेख गरिएन। बरु, उनीहरूलाई १४ औँ महाधिवेशनकै पदाधिकारी र सदस्यका रूपमा आसन ग्रहण र सम्बोधन गराइयो। यसले देउवा र शेखर समूह गगन थापा नेतृत्वको वर्तमान समितिलाई वैधानिकता दिन तयार नरहेको देखिएको छ ।
यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिँदै गगन थापा नेतृत्वको समितिलाई वैधानिक मानेका थिए। तर, यो विवाद फेरि कानुनी जटिलतामा फसेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले विशेष महाधिवेशनको वैधानिकताका सम्बन्धमा परेको मुद्दामा फेरि पुनरावलोकनको अनुमति दिएको छ।
सर्वोच्चले पुनरावलोकनको ढोका खोलेकै समयमा देउवा र शेखर समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै राष्ट्रिय भेला आयोजना गरेको हो । अदालतले पुनरावलोकनको लागि दिएको अनुमतिलाई यो समूहले गगन थापा नेतृत्वको समितिलाई अस्वीकार गर्ने आधारका रूपमा लिएको छ ।
विशेष महाधिवेशनको आधिकारिकता विवाद र देउवा–शेखर पक्षको यो राष्ट्रिय भेलाले नेपाली कांग्रेसभित्रको शक्ति सङ्घर्षलाई थप पेचिलो बनाएको छ। एकातिर गगन थापा नेतृत्वको समितिले आधिकारिकताको दाबी गरिरहेको छ भने अर्कोतिर पार्टीका दुई प्रभावशाली समूहले पुरानै संरचनालाई आधार मानेर गतिविधि अघि बढाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij