धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेश प्रमुख मियाँले शुक्रबार बिहान भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढी पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका छन् ।
यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नयाँ सरकार गठनसँगै सुदूरपश्चिम प्रदेशमा एमालेको सहभागितामा नयाँ मन्त्रिपरिषद् गठन भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij