Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार टोखा–छहरे सडकखण्डमा काठमाडौं–दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–१ ख ००५२ नम्बरको बस र बा.प्र.०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यान खसेका हुन् ।

दुर्घटनामा बसमा रहेका पाँच जना महिला घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति र रामेछाप खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री गम्भीर घाइते भएका छन् ।

सर्लाही लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काडाँघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मैलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काडाँघारी बस्ने ६० वर्षीया जानु श्रेष्ठको अवस्था मध्यम छ ।

खाजा-खानका लागि सडक छेउमा रोकेको बस आफैं गुडेर भ्यानलाई ठक्कर दिंदा दुर्घटना भएको हो । बसको ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०/४० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट