काठमाडौँ : नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्।
पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार ती घटनाहरूमा परी ४३ जना घाइते भएका छन् भने ५ वटा चौपायाको क्षति भएको छ। विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको र २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। पहिरोका कारण मात्रै १० जनाको ज्यान गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ८ : ४५ बजेसम्म कुल ४ सय १४ वटा वर्षा मापन केन्द्रहरूमध्ये ३४५ वटा केन्द्रमा वर्षा मापन भएको छ। जसमा सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमुल केन्द्रमा १५२.९ मिलिमिटर रेकर्ड भएको छ । २४ घण्टामा अधिकतम तापक्रम चितवनको रामपुरमा ३८.० डिग्री सेल्सियस र सबैभन्दा कम मुस्ताङको लेतेमा २०.६ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै न्यूनतम तापक्रम मोरङको विराटनगरमा २८.० डिग्री सेल्सियस र मुस्ताङको थाकमाफाप र मार्फामा ८.८ डिग्री सेल्सियस रेकर्ड भएको छ।
चालु आर्थिक वर्ष २०८३ वैशाख १ गतेदेखि साउन २९ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ६ सय ५९ वटा विपद्का घटनाहरू भएका छन्। यी घटनाहरूमा परी हालसम्म २ सय २९ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता रहेका छन्। सोही अवधिमा १ हजार ४ सय ६३ जना घाइते भएका छन् भने कुल ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। समीक्षा अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij