कास्की : पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन्। पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा २६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी १४/१५ वर्षका दुई बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठजना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ।
“हामी अहिले खोजी र उद्धारमा छौँ। समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ”, प्रहरी नायब उपरीक्षक पासवानले भने।
घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालयय र वडा प्रहरी कार्यालय रामबजारबाट गरी २१ जना प्रहरी खोजीमा खटिएका छन्।
यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जनाको खोताखोरसहितको टोलीसमेत परिचालित भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij