Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रानी खर्कमा सारिए चौरी गाईका गोठ

रानी खर्कमा सारिए चौरी गाईका गोठ

हुम्ला :  नाक्खा गाउँपालिका– ३ को खगालगाउँका पशुपालक किसानले चरनका लागि चौरी गाईको खर्क रानी खर्कमा सारेका छन्। पशुका लागि पोषिलो आहार बुकी पलाएर चौरीका लागि चरन हुने भएपछि साउन महिना लागेपछि रानी खर्कमा लगिएका हुन्।

चार हजार एक सय मिटर उचाईको रानी खर्कका पाटनमा चौरी गाईलाई चरनका लागि लगिएको खगालगाउँका क्याम्मा लामाले बताए। सो पाटनमा बाह्र वटा खर्कहरु चौरी गाईका मात्र रहेको र बुकी पलाएकोले चौरीलाई चरन पनि सहज भएको उनको भनाई छ। चौरी पालन घट्दै गएको कारण यसको सङ्ख्या र खर्क पनि कम हुँदै गएका छन्।

अब चौरी गाई आगामी कातिक महिनासम्म रानी खर्कमा पालनका लागि राखिने बताउदै अर्का खर्काला पाल्जोर लामाले यसरी चौरी गाईको खर्कालो लागेको पनि तीन वर्ष भएको बताए।

उनले साढे दुई सय चौरी हाल रानी खर्कका पाटनमा पालनका लागि लगिएको बताउलै जिल्ला कै पशुपालनका क्षेत्रमा रानी खर्क उपयुक्त भएको बताए। चौरी गाईका बथानहरु दिउसो पाटनमा चराउने बेला निक्कै मनोरम दृश्य देखिने गरेका छन्।

खुला पाटनमा खर्क निर्माण गरिएको कारण बर्षा भएको कारण हिलाम्मे खर्कमा चौरी गाई दुहुनु पर्ने बाध्यता भने खर्कानाहरुलाई हुने गरेको छ। पछिल्लो समय चौरी पालन घटी रहेको कारण दुईदेखि तीन घरधुरी मिलेर एउटा खर्कमा चौरी पाल्ने गरिन्छ। खर्काला पनि एक घरको एक जना गएका हुन्छन्। खर्कालाहरुको रासनपानीको ब्यवस्था पनि तीन महिना पुग्ने गरि घोडामा ढुवानी गरेर लिईएको हुन्छ।

पाँच वर्षुमनिका बालबालिका पनि खर्कमा

आमा पनि खर्कमा जाने भएको कारण पाँच वर्षमुनिका बालबालिका पनि आमासंगै खर्कमा लगिएका छन्।

यस वर्ष १९ जना बालबालिकाहरु आमासंग खर्कमा लगिएका छन्। हुम्लाको सामाजिक मान्यता अनुसार यसरी साना बालबालिकालाई खर्कका दुध, दही, घ्यू खुवाउन पाईने भएको कारण स्वास्थ्यका लागि उपयोगी मानिन्छ। अब आमासंगैका बालबालिकाहरु पनि आगामी कातिक महिनामा घर फर्कने छन्। यो अवधिमा ती पाँच वर्षमुनीका बालबालिकाहरुको भिटामिन र खोप लगाउने कार्य समेत खर्क मै हुने गर्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट